Header Ads

असन्तुष्टकाे असन्तुष्टि र राजनीतिक परिपाटी

सन्तोष शब्द लाग्छ मानवका लागि बनेको नै हैन । केही केटाहरुकाे नाममा बाहेक मानिसले सन्तोष भन्ने जिनिसकाे उपयोग गर्न छाडिसके । हरेक क्षेत्रमा सन्तुष्टि ह्रास भएको छ । अझै भनाैँ सन्तुष्टिकाे महसुस हुनै नपाइ धेरै मानिसहरु परलाेक पुगिसकेका हुन्छन् । स्वयं म पनि असन्तुष्ट प्राणी नै हुँ ।

स्वदेशमा सन्तुष्ट हुन नसकेर कतिपय मानिस परदेश जान्छन् र पनि सन्तुष्ट छैनन् । कतिले त सन्तुष्ट हुन भएको सम्बन्ध पनि विच्छेद गर्छन् र पनि मानिस सन्तुष्ट छैन । र कतिपय यस्ता पनि छन् कि सन्तुष्टिकाे खाेजिमा भए भरकाे लक्ष्य विर्सिएर ब्रेक थ्रु गर्छन् र पनि सन्तुष्ट हुन सक्दैनन् । दुर्लभ सन्तुष्टिकाे खाेजिमा लागेका हरेक मान्छेलाई देख्दा लाग्छ कि मानिस आफ्नो सास सँग पनि सन्तुष्ट छैन ।

व्यक्तिगत सन्तुष्टि प्राप्त गर्न कठिन हाेला तर सामुहिक सन्तुष्टिमा रमाउन सकिन्छ कि भन्ने भावना पनि मानवजगतमा आउन जरुरत छ । सिधै राजनीति कै कुरा जाेडाैँ । राणाहरुबाट असन्तुष्टहरुले प्रजातान्त्रिक आन्दोलनकाे सुरुवात गरे । हुन त त्यो तानाशाही  राणा शासन पनि राजाबाट असन्तुष्टहरुले नै गरेका थिए हाेला । राजा पनि राणा शीत असन्तुष्ट थिए । यहि असन्तुष्ट असन्तुष्ट मिलेर प्रजातान्त्रिक आन्दोलन सफल पारे । देशमा प्रजातन्त्र आयो । र पनि सन्तुष्टि मिलेन र १७ सालमा राजनीतिक कु भयो । यसरी असन्तुष्टि भित्र सन्तुष्टि खाेज्ने चरित्र नै राजनीति हाे कि भन्ने भ्रम पनि कहिलेकाहीँ मनमा उब्जन्छ ।

पञ्चायत शीत असन्तुष्टहरुले बहुदलीय व्यवस्था मागे त्यहि बहुदल शीत असन्तुष्टहरुले जनयुद्ध गरे । फेरि जनयुद्धको असन्तुष्टि जनआन्दोलन मार्फत बाहिर आयो । जनआन्दोलन सफल भए पनि असन्तुष्टि अझै बाँकी रह्यो कि गणतन्त्र कि राजतन्त्र भन्नेमा । हरेक आन्दोलनको लक्ष्य राजनीतिक सन्तुष्टि थियो तर उपलब्धि चाहिँ पारिवारिक राजनीतिक सन्तुष्टि मात्रै भयो र जनता पटकपटक राजनीतिक आन्दोलनमा हाेमिनु पर्याे । संविधानसभाकाे निर्वाचन भयो देश संघियतामा गयो र पनि असन्तुष्टि मेटिएन । असन्तुष्टि यति बाँकी रह्यो कि जनताले नेतालाई, नेताले कार्यकर्तालाई फेरि कार्यकर्ताले गुटलाइ आफ्नो असन्तुष्टिकाे कारक मान्नुपर्ने बाध्यता रह्यो । हरेक पार्टी भित्र गुट छ । गुटबन्दी भित्र पनि असन्तुष्टि छ । एउटा गुट सँग अर्को गुट असन्तुष्ट छ । संस्थापन पक्ष र असन्तुष्ट पक्षको हरेक पार्टी भित्र अन्तरसंघर्ष छ ।

पछिल्लो समय पार्टी भित्रकाे असन्तुष्टि प्रायः सार्वजनिक कार्यक्रममा पाेखिन्छ । शुभकामना आदानप्रदान देखि चियापान सम्मका हरेक कार्यक्रममा एउटा पार्टीको सताेसराप अर्को पार्टीले गर्ने परिपाटी बसिसकेको छ । शुभकामना आदानप्रदानमा समेत असन्तुष्टि व्यक्त गर्ने राजनीतिक संस्कार कति विकृत छ भन्ने प्रष्ट छ । आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने हरेक नेता आफू जाेगिन अरुको उछत्ताे काट्छ र आफ्नो दाग मेटाउने दुष्प्रयास गर्छ । राजनीतिक असन्तुष्टिकाे कारक पद रहेछ र पद भए राजनीतिक असन्तुष्टि नहुने रहेछ भन्ने प्रमाण नेकपा एकताबाट पनि प्रष्ट हुन्छ । कुनै समय एक अर्काकाे उछित्ताे काटेर नथाक्ने नेताहरु एउटै पार्टीको एउटै पदमा विराजमान भए । अहिले उनिहरु सन्तुष्टिकाे महसुस गरिरहेका छन् । उता प्रतिपक्षी दल कांग्रेस भित्र पनि असन्तुष्टहरु बेलाबेलामा भेला भइरहेका छन् । सानोतिनो राजनीतिक शक्ति भित्र पनि असन्तुष्टि छ । नयाँ शक्ति बनाउन हिंडेका बाबुराम स्वयं सन्तुष्ट छैनन् । पत्रकारिता छाडेर राजनीतिमा आएका रवीन्द्र मिश्र जनमत सँग सन्तुष्ट हुन सकेनन् ।

जनताले सिंहदरबार गाउँमा लान संघर्ष गरे तर त्यहि सिंहदरबारको हुकुमी शैलीमा जनता असन्तुष्ट छन् । कार्यकर्ता ठेक्का नपाएकोमा असन्तुष्ट छ । सिंहदरबार देखि दुरदराजसम्म असन्तुष्टि छ । कतै विकास नभएको असन्तुष्टि छ त कतै विकासको नाममा लुट्न नपाएकोमा असन्तुष्टि । कतै तलब नबढेकोमा असन्तुष्टि छ त कतै तलब नपाएकोमा । घुस खानेहरु थाेरै घुस दिएकोमा असन्तुष्ट छन् तिनिहरुकाे काम देखेर सेवाग्राही असन्तुष्ट छन् ।

हरेक ठाउँमा असन्तुष्टि मात्रै देख्दा त लाग्छ हामी कुनै पनि व्यवस्था र कुनै पनि परिपाटीमा सन्तुष्ट हुनै सक्दैनौं  हामी स्वयं आफ्नो नेता हाैँ हामी स्वयं आफ्नो विचारक पनि । कुनै वाद वा प्रतिवाद भन्दा पनि क्रान्ति र प्रतिक्रान्ति भन्दा पनि आफू भित्रकाे राजनीतिक एवम सामाजिक असन्तुष्टि नमेटिएसम्म कुनै पनि परिवर्तन संस्थागत हुँदैन । विकास निर्माणका हरेक काम सन्ताेषजनक नभएसम्म देशमा असन्तुष्टि बढिरहन्छ ।

सन्तुष्ट कसलाई मात्रै बनाउने कसरी बनाउने भन्ने ध्याउन्नमा नेताहरू लागि रहेका छन् । जनताभन्दा विदेशी प्रभुलाइ सन्तुष्ट बनाउने परिपाटीले न त देश बन्छ न जनता सन्तुष्ट हुन्छन् । सामाजिक रुपान्तरण भनेर क्रान्तिमा लगाउने अनि आफ्नो भुँडी भरेर डकार्ने प्रवृत्तिले पनि सन्तुष्टि सबैलाई दिन सकिँदैन ।

हरेक परिवर्तनमा असन्तुष्टहरु हुन्छन् । केहि मात्रामा असन्तुष्ट हुनु स्वभावतः ठिकै हाे तर जब आवश्यकताभन्दा धेरै असन्तुष्टि बढ्छ अनि राजनीतिक परिवर्तनको आन्दोलन सुरुवात हुन्छ । आजभोलि कै कुरा गर्ने हाे भने नेकपाकाे चियापानमा असन्तुष्टहरुले बहिष्कारकाे पर्चा बाँडे त्यहि बहिष्कार गर्नेलाई संस्थापकका हिमायतीहरुले थप्पड हाने । यसरी एक दुई थप्पडले असन्तुष्टि साम्य हुँदैन चरित्र सुधार्नु आवश्यक छ भन्ने पाठ न नेताले सिकांछन् न सिक्छन् नै ।

नेपाली राजनीतिमा असन्तुष्टि मेटाउने भन्दा दबाउने परिपाटी धेरै छ । जुन खतरनाक परिपाटी हाे । असन्तुष्टि मेटाउने हाे भने मात्रै राजनीतिक स्थिरता सम्भव छ नत्र देशमा स्थिरता सम्भावना छैन । तर हाम्रो नेताहरू राजनीतिक मुद्दालाई केन्द्रमा राखेर यतिबेला असन्तुष्टि दबाउने दिवा सपनामा लिप्त छन् जुन पछि खतरनाक हुनसक्ने खतरा छ । पदका लागि भएको असन्तुष्टि दबाउन सकिएला तर जब राजनीतिक मुद्दामा असन्तुष्टि बढ्छ नि तब कुर्सिकाे आयु पनि घट्दै जान्छ तसर्थ बेलैमा असन्तुष्टि मेटाउने परिपाटीकाे सुरुवात नेपाली नेताहरूले गर्न जरुरी छ ।

हरेक पार्टीले आफू भित्रकाे कमजोरी हटाउने हाे भने असन्तुष्टि स्वतः कम हुन्छ । याेग्य व्यक्तिलाई मात्रै पदमा राख्ने हाे भने पनि असन्तुष्टि कम हुन्छ । राजनीतिक आस्था नहेरी क्षमताका आधारमा काममा लगाउने हाे भने पनि व्यवस्था विरुद्धको असन्तुष्टि कम हुन्छ । जातीयत भेदभावको भावना हटाउने र सबै जात समान हाे भन्ने धारणा सबै जातिका मानिसले बनाउने हाे भने मात्रै पनि समाजका आधा असन्तुष्टि हल हुन्छ । हामी स्वयं असन्तुष्ट छाैँ तर सन्तुष्ट हुने बाटो बनाउन तिर पनि लाग्दैनाैँ हाे हामी यहीँ चुकेका छाैँ । हामीलाई संस्कृति जाेगाउनु छैन आफ्नो जात प्याराे छ । हामीलाई धर्म जाेगाउनु छैन तर प्रदेशकाे नाममा आफ्नो जात चाहिन्छ । विदेशी धर्मको अनुसरण गरेर राष्ट्रियता बलियो हुँदैन विदेशीकाे इसारामा नाचेर देश बन्दैन । देश समृद्ध हुन माैलिकता जाेगाउनु पर्छ माैलिकता जाेगाउन असन्तुष्टि मेट्नु पर्छ र असन्तुष्टि हटाउने सुरुवात आफैंले गर्नुपर्छ ।

अत: समृद्ध नेपाल सुखी नेपाली बनाउन पनि नेपाली जनताको असन्तुष्टि मेटिनु आवश्यक छ । हरेक क्षेत्रका विकृति र विसंगति हटाउन सरकार अघि सराेस । पार्टी भित्रका असन्तुष्टि साम्य हाेस् । देश समृद्ध बनाेस् र नेपाली सन्तुष्ट ।

No comments

all right reserve deepin. Powered by Blogger.