Header Ads

वैकल्पिक शक्ति निर्माणकाे हाेडबाजि र जनचाहना !

जनताले राजनीतिलाई फाेहाेरि खेल भनेर नाक खुम्च्याइ रहेको अवस्थामा नयाँ शक्ति अथवा वैकल्पिक शक्तिको आवश्यकता महसुस धेरैले गरे । यसैबीच  संविधानसभाकाे दाेश्राे निर्वाचन अगाडि पनि कहिलेकाहीँ बाबुराम भट्टराईले नयाँ शक्तिको आवश्यकता भएको भन्दै कार्यकर्तालाई प्रशिक्षण दिएको समाचार आउने गर्थे । विशेषगरी सेना समायोजनकाे काम सम्पन्न भए सँगै उनलेे वैकल्पिक शक्तिकाे नयाँ अवधारणा बाहिर ल्याए । तथापि उनको अवधारणाले मुर्तरुप भने संविधान बनेपछि मात्रै पायाे । यसबिचमा बाबुरामकै अवधारणालाई अंगालेर विभिन्न राजनीतिक पार्टीको जन्म भए । तिनिहरुले जनताको ध्यानाकर्षण गर्न सकेनन् र आफैं विलिन पनि भए ।

देशमा जातीय राजनीति अगाडि बढे पछि पहिलो संविधानसभाकाे निर्वाचनमा जातीयताका नारा बाेकेका पार्टीहरुले समानुपातिक तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने अवसर पाए । नतिजा कतिसम्म भयो भने आफुले जित्ने  सम्भावना नै नभएको दलले पनि संविधानसभामा प्रतिनिधित्व गरे । पहिलो संविधानसभा विघटन भए संगै राजनीतिक घटनाक्रम पनि बिस्तारै रुपान्तरण हुँदै गयो । समय र परिस्थिति परिवर्तन भए संगै आफुलाइ परिवर्तन गर्न नसकेका दलहरू दाेश्राे संविधानसभाकाे निर्वाचनमा पराजित भए । पहिलोकाे निर्वाचनको  ठ्याक्कै उल्टाे नतिजा दाेश्राे निर्वाचनमा देखा पर्याे । यसले पनि के पुष्टि गर्छ भने जनता नयाँ कुरा चाहन्छन् या भनाैँ जनतालाई नयाँ विकास र रुपान्तरण चाहिएको छ ।

यसरी यी र यस्तै नतिजा प्रति जानकार बाबुरामले नयाँ शक्ति अभियान अगाडि बढाउन नेतृत्वदायि भुमिका खेले । सफल अर्थमन्त्री र केही हदसम्म सफल प्रधानमन्त्री बनेका बाबुरामबाट आशावादी जनता पनि धेरै थिए । पार्टीभित्र र बाहिर उनको समर्थन गर्ने ठुलो भिड थियो । यसैबाट हाैसिएर वैकल्पिक शक्ति निर्माणमा लागेका उनी अहिले संगठन विस्तारमा छन् यसबिचमा उस्तै लक्ष्य र उद्देश्य लिएर अन्य शक्ति पनि स्थापित हुने दाउमा अगाडि आउने प्रयत्न गरिरहेका छन् भने पुरानै मुद्दा नयाँ ढंगले उठाएर जनमत बटुल्ने राप्रपा जस्तो दलले पनि वैकल्पिक शक्ति बन्ने चेष्टा गरिरहेका छन् ।
जनताको भावनालाई केही हदसम्म जित्ने उद्देश्य लिएर  बाबुराम भट्टराई नयाँ शक्ति निर्माण तिर लागे । नयाँ शक्ति पार्टीको घाेषणासभामा जनसहभागिता पनि उल्लेखनीय रह्यो तर विस्तारै त्यो भित्र पनि मतभेद देखा परे । नयाँ शक्ति जसरि जनताको आशा र भराेषाकाे केन्द्र बन्नुपर्ने थियो लाग्छ त्यहि हदसम्मकाे न्यायसंगत काम नेतृत्वले गर्न सकेन । पहाडीलाई सामन्ती भन्दै तराई झर्नु र तराईका जनता मात्र उत्पिडित देख्नु नै बाबुरामकाे पहिलो भुल भयो । त्यसपछि जातीय राजनीतिबाट माथि नउठि उही पुरानाे माओवादी बिचारधाराकै पक्षपोषण गर्नुले पनि बाबुरामबाट आशा राखेर नयाँ शक्तिमा लागेकाहरुलाइ निराशामा बदलिदियो  । अहिले पनि नयाँ शक्तिले लिएको प्रत्यक्ष निर्वाचित कार्यकारिणी प्रमुख हुनुपर्ने मागमा आम नेपाली नागरिकको सहमति छ तर बाबुरामकाे सबै मुद्दामा जनता सहमत छैनन् । उनलेे हिजो गरेको जनयुद्ध र त्यसबाट नेपाली समाजमा परेको असरबारे जनता सचेत छन् । मुमाराम खनाल लगायतकाले राजिनामा गरेर बाटो लाग्नुले पनि नयाँ शक्तिमा केही गडबडी छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ । तथापि नयाँ तथा बैकल्पिक राजनीतिक शक्ति निर्माणकाे जस भने बाबुरामलाई नै जान्छ ।

बाबुरामकै अवधारणामा अहिले नयाँ शक्ति या भनाैँ वैकल्पिक शक्ति निर्माणकाे लहर नै चलेको छ । यसरी नयाँ नयाँ शक्ति दिनदिनै खुल्दै जाने हाे भने नेपाली राजनीति प्रति नेपाली जनताको वितृष्णा अझै बढ्दै जाने निश्चित छ । उता राप्रपाबाट अलग भएका केशरबहादुर विष्टले पनि वैकल्पिक शक्ति खाेल्दै गरेको हल्ला नेपाली मिडियामा राम्रोसँग चलिसकेकाे छ । उक्त  हल्ला सेलाउन नपाउँदै यता फेरि पत्रकारिता गर्दै आएका रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिक शक्ति खाेल्ने उद्देश्यले आफ्नो जागिरे जीवनबाट राजिनामा दिएका छन् । यसरी वैकल्पिक शक्ति खाेल्न मै हाेडबाजि चल्ने हाे भने फेरि पनि नेपाली जनताले राजनीतिलाई फाेहाेरि खेल भन्न बाध्य हुनेछन् । तसर्थ देशलाइ विकसित बनाउन केही लक्ष्य र उद्देश्य भएकाे नेतृत्व पक्कै पनि आवश्यक छ । दक्ष नेतृत्व भएको पार्टीको आवश्यकता महसुस नेपाली राजनीतिमा पहिलो संविधानसभा विघटन संगै भएको थियो तर त्यसको परिपुर्ति गर्ने खालको राजनीतिक शक्ति जन्मन सकेको छैनन् अहिलेसम्म ।

निश्चित समुदाय र जातको मात्रै अधिकारका कुरा गरेर अझै पनि कुर्सीकै गाेलचक्करमा राजनीति गर्ने र आफुलाइ नयाँ दाबि गरिरहने हाे भने राजनीति कहिल्यै जनउत्तरदायी हुँदैन । सम्पूर्ण समुदायको उचित प्रतिनिधित्व र सबैलाई समान उत्तरदायित्व बाेध गराउने शक्ति नै अहिले नयाँ शक्ति हाे । भारतीय इशारामा वा चिनियाँ अथवा पश्चिमी इशारामा चल्ने हाे भने कठपुतली शक्ति भइन्छ भन्ने हेक्का पनि वैकल्पिक शक्ति निर्माण गर्ने नेतृत्वले बुझ्नु आवश्यक छ । लाखौंलाख युवा राेजगारिका लागि विदेशिनुपर्ने बाध्यताकाे अन्त्य गर्ने र देशमा विकासका पुर्वाधार निर्माण गरि समृद्ध नेपाल निर्माणकाे मार्ग काेर्ने शक्ति नै वैकल्पिक शक्ति बन्न सक्छ । तसर्थ नयाँ शक्ति निर्माण अभियानमा लागेकाहरुले देश र जनताको भावनालाई पनि बुझ्नु आवश्यक छ । क्षेत्रीय, जातीय, धार्मिक, साम्प्रदायिक राजनीति गर्ने शक्ति त पञ्चायतकाे अन्त्य संगै उदय भएका थिए त्यहि नारा बाेक्ने शक्ति कदापि नयाँ हुँदैन ।

कुनै निश्चित प्रतिशत व्यक्तिले गरेको शाेषण र अन्यायलाई सिंगो समुदायको नियतमाथि नै प्रश्नचिह्न खडा गरेर सिमित राजनीतिक महत्वाकांक्षा त  पूरा गर्न सकिन्छ तर निरन्तर आफ्नो अस्तित्व जाेगाउन मुस्किल हुन्छ ।  पटकपटक भाेट हालेर चुनिएकाहरु प्रति सधैं निराश जनताको मुहारमा मुस्कान छर्ने शक्ति नै नयाँ शक्ति हुनेछ । अझै भनाै भाेट हालेकाहरु सन्तुष्ट हुन सकुन् या भनाैँ आफ्नो नेतालाई जनताले पुर्णतः विश्वास गर्ने वातावरण भए मात्रै नयाँ शक्ति बनेको आभास हुन्छ ।

जुन दिन आफ्नो छाेराले आमाको हातले पकाएको खाएर देशमै राेजगारि पाउने वातावरण बन्छ त्यो दिन मात्रै गरिबकाे झुपडीले वैकल्पिक शक्तिलाई सम्मान गर्छ । तसर्थ नयाँ हुन नाम मात्रै हैन काम व्यवहार र चिन्तन र सहकार्य पनि नयाँ शीत गर्नु आवश्यक छ । नयाँ शब्दमा हैन व्यवहारमा आवश्यक छ तसर्थ वैकल्पिक शक्तिकाे चाहना केवल सपना मात्रै नबानाेस् जनचाहना अनुरुपको विकास प्रेमि पार्टी बनाेस् ।  पार्टीकाे सदस्यता लिएकाहरु हातमा हरियो पासपोर्ट बाेकेर श्रममन्त्रालयमा श्रम स्विक्रिति लिन लाइन बस्नुपर्ने अवस्था आयो भने आफुलाइ नयाँ हुँ भनेर पुष्टि गर्न चुनाैति हुनसक्छ तसर्थ वैकल्पिक शक्ति निर्माताकाे ध्यान यतातिर पनि जानू जरुरी छ । वैकल्पिक शक्ति शरिर ढाक्ने बस्त्र बन्न सक्नुपर्छ, झुपडीमा सिटामाेल बन्न सक्नुपर्छ, भाेकाे पेटलाइ अन्न बन्नुपर्छ, गरिब असायकाे सहारा बन्नुपर्छ, बेरोजगारलाई राेजगारि बन्न सक्नुपर्छ । वैकल्पिक शक्तिले साँघुरा गल्लिहरु फराकिलो पार्नुपर्छ । विभेद अन्त्य गर्दै  सबै समुदायको रीतिरिवाज र संस्कृतिकाे जगेर्ना गर्नसक्नुपर्छ । तसर्थ वैकल्पिक शक्ति हरेक शक्तिकाे कच्चापदार्थ बन्न सके मात्रै जनताको भराेसा बन्न सक्छ नत्र उही एकसिटे पार्टी बनेर मन्त्री बन्न नयाँ अथवा वैकल्पिक शक्ति आवश्यक हुन्न । आवरण र रंग बदल्नु नयाँ हुनु हैन नयाँ हुन व्यवहार र व्यवस्थापन सबै नयाँ हुन जरुरी छ । जनताले नयाँ महसुस गर्न सके मात्रै नयाँ भइने हाे नत्र नयाँ दाबी त जाे काेहिले नि गर्न सक्छ ।

No comments

all right reserve deepin. Powered by Blogger.